स्वतन्त्र उम्मेदवारलाई मतपत्र पुगेन, फेरि छापिँदै

काठमाण्डु टुडे २०७९ वैशाख १७ गते ९:२९ मा प्रकाशित

काठमाण्डु, १७ वैशाख–विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी हुँदा निर्वाचन आयोगले थप चिह्नसहित फेरि मतपत्र छाप्नुपर्ने भएको छ ।

केही पालिकामा स्वतन्त्र उम्मेदवारी अनुमानभन्दा बढी पर्दा यसअघि छापिएको मतपत्रअनुसार उम्मेदवारलाई चुनाव चिह्न दिन नपुग्ने देखिएको छ । जसले गर्दा आयोगले स्वतन्त्र उम्मेदवारी धेरै परेका स्थानीय तहका लागि फेरि मतपत्र छाप्ने तयारी गरेको छ ।

शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनेको सङ्ख्यालाई समेत ध्यान दिई आयोगले यसअघि छापिएको मतपत्रमा चिह्न अपुग हुने पालिकाका लागि मात्र फेरि मतपत्र छाप्ने तयारी गरेको हो ।

आयोग स्रोतले भन्यो, ‘केही पालिकामा अनुमानभन्दा धेरैको उम्मेदवारी परेको छ। त्यसले गर्दा छापिएको मतपत्रमा समावेश गरिएको चिह्नले मात्र सबै उम्मेदवारलाई नपुग्ने देखिएको छ । अपुग हुने पालिकाको सङ्ख्या यकिन गरेर शनिबार वा आइतबार नयाँ व्यवस्था गर्दैछौं ।’ उम्मेदवारलाई शनिबार चिह्न प्रदान गर्ने कार्यक्रम आयोगको छ । .नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us