२२ हजारलाई एक अर्ब पाँच करोड

काठमाण्डु टुडे २०७९ वैशाख ११ गते ७:५३ मा प्रकाशित

काठमाण्डु, ११ वैशाख–सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच करोड रुपैयाँ विभिन्न योजनाअन्तर्गत श्रमिक तथा उनीहरूका परिवारलाई भुक्तानी गरेको छ ।

सामाजिक सुरक्षा कोषले योगदानकर्ता श्रमिकबाट सङ्कलन गरेको १५ अर्ब ५७ करोडमध्ये विभिन्न चार योजनाअन्तर्गत एक अर्ब पाँच करोड ४५ लाख रुपैयाँ बराबरको योगदान रकम भुक्तानी गरेको हो ।

कोषका सह-प्रवक्ता रोहित रेग्मीले कोष रहेको रकममध्ये विभिन्न योजनाअन्तर्गत आएका दाबीअनुसार रकम भुक्तानी भएको बताए । उनले योगदानकर्ताको सङ्ख्या वृद्धिसँगै योगदान रकमसमेत वृद्धि हुने र सोहीअनुसार दाबी भुक्तानी हुने बताए ।

कोषले हाल सबैभन्दा बढी अवकास दाबी भुक्तानीअन्तर्गत १६ हजार ३१० जनालाई ८५ करोड ७० लाख ३९ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ। यसैगरी औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत आठ हजार ५१५ जनाले पटक -पटक गरेर १५ करोड ५७ लाख २८ हजार भुक्तानी लिएका छन् ।

कोषमा हालसम्म १७ हजार ४४ रोजगारदाता र तीन लाख २८ हजार ४ सय ८८ योगदानकर्ता सूचीकृत भएका छन् । कारोबार दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us