प्रचण्डको अभिव्यक्तिले पुँजीबजारमा खैलाबैला, लगानीकर्ता आक्रोशित

काठमाण्डु टुडे २०७८ मंसिर २७ गते १७:१८ मा प्रकाशित

काठमाण्डु, २७ मंसिर– नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सेयर बजारलाई लिएर दिएको विवादित अभिव्यक्तिले पुँजीबजार तरंगित बनेको छ । सेयर लगानीकर्ताहरूले प्रचण्डको भनाइले बजारलाई नकारात्मक असर गर्नसक्ने भन्दै आपत्ति जनाएका छन् ।माओवादी केन्द्रका सात प्रदेशको सम्मेलन काठमाडौंबाट उद्घाटन गर्ने क्रममा शनिबार प्रचण्डले पुँजीबजारको बदख्वाईं गरेका थिए । उनले पुँजीबजारमार्फत संसारभरको धन एकठ्ठा गर्न खोजिएको भन्दै यसविरुद्ध माओवादीले लड्नुपर्ने धारणासमेत राखे ।

पुँजीबजारलाई साम्राज्यवादको विकसितरूपको संज्ञा दिँदै प्रचण्डले भनेका छन्, ‘नेपाल धितोपत्र बोर्ड, सट्टा बजार, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) ले पैसा यताउता गर्छन् भन्ने हाम्रो बुझाइ छ । तर, त्यति सजिलै हुँदैन । यी साम्राज्यवादका विकसितरूप हुन् । वित्तीय एकाधिकार र पुँजीवादलाई बलियो बनाउने, त्यसलाई अघि बढाउने र नाफा सोहोरेर संसारका केही सीमित पुँजीपतिको हातमा संसारकै धन एकठ्ठा गर्ने र विश्वका ८० प्रतिशत जनतालाई भोको– नांगो राख्ने प्रणाली हो यो,’ प्रचण्डको भनाइ थियो ।

यतिबला सरकारमा नेकपा माओवादीकै नेता अर्थमन्त्री छन् । त्यसमा पनि आफ्नै विश्वासपात्रका रूपमा रहेका जनार्दन शर्माले अर्थमन्त्रालय हाँकिरहेको बेला प्रचण्डको अभिव्यक्ति आउँदा सेयर लगानीकर्ताहरू झस्किनु स्वाभाविक हो । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो यात्रामा छ । यस्तो बेला बजारलाई उकास्नेभन्दा पनि थप संकटतर्फ धकेल्ने गरी प्रचण्डले बोलेको आरोप लगानीकर्ताहरूले लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us