७९ अंकले नेप्से घट्दा झन्डै ४ अर्बको सेयर किनबेच

रासस २०७८ मंसिर २७ गते १६:०४ मा प्रकाशित

काठमाण्डु, २७ मंसिर– साताको दोस्रो दिन पनि नेप्से २२ सय अंकमा झरेको छ । अघिल्लो दिन ८९ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पनि ७९ दशमलव २३ अंकले घटेर २२ सय ८२ अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ४७ अंकले घटेर चार सय ३७ दशमलव ५९ अंकमा झरेको छ । दुई सय ३३ कम्पनीको ६२ हजार आठ सय नौपटकको कारोबारमा ९६ लाख ७९ हजार ७२ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम तीन अर्ब ९९ करोड ५६ लाख चार हजार एक सय ७८ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकामा १३ वटै समूहहरुको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ३४ दशमलव ११ अंकले घटेर १५ सय ९६ दशमलव ९७ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि पाँच सय ४५ दशमलव ९८ अंकले घटेर नौ हजार सात सय ९० दशमलव ६५ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि चार सय २५ दशमलव ३३ अंकले घटेर १२ हजार एक सय ५५ दशमलव २५ अंकमा झरेकामा विकास बैंक, जलविद्युत्, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी र लगानी समूहहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।

यसैगरी नबिल बैंकको प्रतिकित्ता १३ सय ६६ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा १८ करोड तीन लाख ५९ हजार तीन सय दुई रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

नेप्सेमा आज गोर्खाज फाइनान्सको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ४७ प्रतिशतले बढेर सात सय ७१ रुपैयाँ ९० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेर १६ सय ९३ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us