काठमाण्डु, ६ मंसिर– नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से साताको दोस्रो काराबार दिन आज सोमबार भने सात दशमलव नौ अंकले बढेर २७ सय ६५ दशमलव ४३ अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २१ अंकले बढेर पाँच सय १९ दशमलव ४६ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय २५ वटा कम्पनीहरुको ५१ हजार पाँच सय २६ पटकको कारोबारमा ७५ लाख ६५ हजार पाँच सय १० कित्ता सेयर किनबेच भएका छन् ।
उक्त किनबेचका आधारमा कुल सेयर कारोबार रकम तीन अर्ब ९२ करोड ९२ लाख ६१ हजार छ सय २७ रुपैयाँ पुगेको छ । १३ वटा समूहको कारोबार भएकोमा आज पाँचवटा समूहको सूचक घटेर आठवटा समूहको सूचक बढेका छन् ।
जलविद्युत, होटेल तथा पर्यटन, ट्रेडिङ, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् । विकास बैंक समूहको सूचक भने आज ३४ दशमलव ९९ अंकले घटेर ५३ सय ८१ दशमलव दुई अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि सात दशमलव आठ अंकले घटेर १४ हजार नौ सय ६९ दशमलव ५१ झरेको छ । यीबाहेक फाइनान्स, उत्पादनमुलक र लघुवित्त समूहहरुको सूचक पनि घटेका छन् ।
वाणिज्य बैंक समुहको सूचक दुई दशमलव ८९ अंकले बढेर १८ सय २६ दशमलव ५२ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक पनि ९९ दशमलव ४८ अंकले बढेर १२ हजार चार सय ५० दशमलव ५४ अंकमा पुगेको छ ।