करमा भएका समस्या र गुनासा समाधान गर्ने संयन्त्र बनाउँछुः अर्थमन्त्री शर्मा

काठमाण्डु टुडे २०७८ मंसिर १ गते १५:५० मा प्रकाशित

काठमाण्डृ, १ मंसिर– अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताएका छन् । बुधबार दशौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समस्याको तत्काल समाधान गर्न संयन्त्र बनाइने बताएका हुन् ।

मन्त्री शर्माले भने ‘करदाताहरूको गुनासा सुन्नुपर्छ । यहाँ आइसकेपछि एउटा इकाई बनाउनुपर्ने आवश्यकता महसुस गरेँ, तपाईँहरूले भन्नुभएको ‘झ’ झिक्नका लागि एउटा इकाई÷संयन्त्र बनाउँछु । त्यहाँ तपाईँले गुनासो राख्न पाउनुहुन्छ ।’ उहाँले कहाँ र के कारणले समस्या भएको भन्ने समस्याको तत्काल समाधानका लागि संयन्त्र बनाउने बताएका हुन् ।

मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कृत नगरिएको गुनासो आएको बताउनुहुँदै त्यस्ता सूचना दिनेलाई तत्काल पुरस्कृत गर्न पनि आग्रह गरे । पुरस्कृत नगर्दा सूचना दिन हतोत्साहित हुने गरेको र त्यसले कर सङ्कलनमा समेत असर गरिरहेको भन्नुहुँदै उहाँले ‘इन्सेन्टिभ’ दिन छुटेकालाई समेत तत्काल दिन निर्देशन समेत दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us