नेप्सेको उच्च वृद्धिमा लाग्यो ब्रेक

काठमाण्डु टुडे २०७८ कार्तिक १५ गते १६:१५ मा प्रकाशित

काठमाण्डु, १५ कात्तिक– अघिल्लो दिन ५५ दशमलव पाँच अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने १७ दशमलव ७५ अंकले घटेर २८ सय १९ दशमलव ८६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८८ अंकले घटेर पाँच सय २८ दशमलव ५८ अंकमा पुगेको छ ।

दुई सय २६ वटा कम्पनीहरुको ८० हजार तीन सय ५१ पटकको कारोबारमा एक करोड ३४ लाख तीन हजार तीन सय १२ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम सात अर्ब ७७ करोड ७५ लाख १० हजार सात सय ७८ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार हुँदा तीनवटा समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव ६९ अंकले बढेर १८ सय ९५ दशमलव तीन अंकमा पुग्दा होटेल तथा पर्यटन र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।

विकास बैंक समूहको सूचक भने ४२ दशमलव ४९ अंकले घटेर ५४ सय ६५ दशमलव ५२ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि ५४ दशमलव ५९ अंकले घटेर १३ हजार ४० दशमलव ८६ अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक पनि एक सय १५ दशमलव ७५ अंकले घटेर १५ हजार सात सय ९६ दशमलव ६९ अंकमा झरेकोमा जलविद्युत, फाइनान्स लघुवित्त, ट्रेडिङ, उत्पादनमुलक, अन्य र सामूहिक लगानी कोष समूहहरुको सूचक पनि घटेका छन् ।

आज महुली लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर छ सय ५७ रुपैयाँ ८० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा कामना सेवा विकास बैंकको प्रतिकित्ता सेयर मूल्य छ दशमलव ७२ प्रतिशतले घटेर छ सय ८० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज महालक्ष्मी विकास बैंकको प्रतिकित्ता छ सय ९५ रुपैयाँ अन्तिम मूल्यमा ३६ करोड ५८ लाख ७१ हजार दुई सय ५९ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us