नेप्से २,७८२ दशमलव १६ अंकमा सीमित,

काठमाण्डु टुडे २०७८ कार्तिक १२ गते १४:३९ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– सताको अन्तिम दिन नेप्से दुई हजार सात सय ८२ दशमलव १६ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय २० दशमलव ९८ अंंकमा पुगेको छ ।

कुल दुई सय २९ वटा कम्पनीहरुको यो साता दुई लाख ९९ हजार छ सय ६४ पटकको कारोबारमा चार करोड ६५ लाख २८ हजार आठ सय ६० कित्ता सेयर किनबेच भएकोमा कुल सेयर कारोबार रकम २५ अर्ब ४० करोड ८५ लाख ७४ हजार एक सय १० रुपैयाँ पुगेको छ ।

यो कारोबार रकम गत साताको भन्दा बढी हो । गत साता भने नेप्सेमा दुई सय २१ वटा कम्पनीहरुको एक लाख ८७ हजार पाँच सय ८७ पटकको कारोबारमा तीन करोड ५३ लाख २० हजार एक सय ८९ कित्ता सेयर खरिद(बिक्री हुँदा कुल कारोबार रकम १३ अर्ब ५६ करोड २१ लाख १६ हजार सात सय ७२ रुपैयाँ पुगेको थियो ।

नेप्से यो साता पाँच कार्य दिन नै खुलेको थियो । सोमध्ये पाँच कार्य दिन नै नेप्से बढेपछि लगानीकर्ताहरु सेयर बजारप्रति निकै नै उत्साहित देखिएका थिए ।

सोही आधारमा यो साता नेप्से सूचकसँगै कारोबार रकम पनि गत साताको तुलनामा उच्च अंकले बढेको हो । जसमध्ये पहिलो दिन आइतबार २७ दशमलव ५१ अंकले बढेर दुई हजार पाँच सय ८४ दशमलव ५२ अंकमा सीमित हुन पुगेको नेप्से साताको अन्तिम कारोबार दिन पनि १३ दशमलव चार अंकले बढेर दुई हजार सात सय ८२ दशमलव १६ अंकमा पुग्न सफल भएको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन सात दशमलव २४ अंंकले बढेर चार सय ९० दशमलव ६८ अंकमा पुुगेकोमा साताको अन्तिम कारोबार दिन पनि चार दशमलव ४२ अंकले बढेर पाँच सय २० दशमलव ९८ अंकमा पुग्न सफल भएको थियो ।

यीबाहेकका बाँकी दिनहरुमा पनि नेप्से सूचक तथा कारोबार रकम दुवै नै लगातार बढेका थिए । नेप्सेमा यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा नबिल बैंक, नेशनल हाइड्रो पावर कम्पनी, कामना सेवा विकास बैंक आदि परेका थिए भने कारोबार भएको सेयर संख्याको आधारमा नेशनल हाइड्रो पावर कम्पनी, नबिल बैंकलगायतका कम्पनीहरु अगाडि परेका थिए । सूचीकरणतर्फ भने यो साता तेह्रथुम हाइड्रो पावर कम्पनी र साहस ऊर्जा लिमिटेडको साधारण सेयर नियमित कारोबारका लागि नेप्सेमा सूचीकृत भएका थिए ।

बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us