काठमाण्डु, ५ कात्तिक– न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आईपीओ बाँडफाँड गरिएको हो ।
कम्पनीले निष्कासन गरेको आईपीओमा कुल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १३ हजार ९४६ जनाको आवेदन रद्द भएको र बाँकी २२ लाख ४१ हजार १३८ योग्य आवेदकमध्ये दुई लाख नौ हजार २५० आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरका २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासनमा ल्याएको थियो ।
निष्कासित सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई बाँडफाँड गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।