राष्ट्र बैंकद्वारा बढीमा १० प्रतिशतका दरले मात्रै ब्याजदर निर्धारण गर्न निर्देशन

काठमाण्डु टुडे २०७८ कार्तिक ३ गते १३:३७ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– नेपाल राष्ट्र बैंकले बढीमा १० प्रतिशतका दरले मात्र ब्याजदर निर्धारण गर्न निर्देशन दिएको छ । मंगलबार राति वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

बैंकहरुमा अहिले निक्षेप तान्ने ब्याजदर बढाउने होडबाजी चलिरहेको अवस्थामा राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको जानकारी दिएको छ । यो निर्देशन अनुसार इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले जुुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने व्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित व्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन् ।

यसैगरी संस्थागत मुद्दती निक्षेप (बोलकवोलसमेत) मा प्रदान गरिने अधिकतम व्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम हुनु पर्ने छ । परिपत्रअनुसार इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले कार्तिक महिनाको लागि प्रकाशित भइसकेको व्याजदरमा समेत संशोधन गरी यही कार्तिक ३ गते अर्थात आज बुधबारभित्र आफ्नो वेभसाईटमार्फत सार्वजनिक गरी आजकै मितिबाट लागु गर्नुपर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us