गणेश थापाले हमामबाट २ करोड लिएको खुलासा

काठमाण्डु टुडे २०७१ जेठ २६ गते ६:५५ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– एसियाली फुटबल महासंघ एएफसीका पूर्वअध्यक्ष मोहमद विन हमामले अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापालाई एक लाख १५ ganesh thapaहजार पाउन्ड दिएको खुलासा भएको छ ।
कतारलाई सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्ने अधिकार दिलाउन हमामले थापालाई करिब एक करोड ८२ लाख ५४ हजार दुई सय ७३ रुपैयाँ दिएको बेलायती अखबार सन्डे टाइम्सले जनाएको छ ।

दक्षिण अफ्रिकामा सन् २०१० को विश्वकप फुटबल सुरु हुनुअघि त्यसका लागि मतदान भएको थियो । मतदानमा अफ्रिकी र दक्षिण एसियाली मुलुकका फुटबल पदाधिकारीलाई प्रभावित गर्न हमामले ठूलो रकम बाँडेको दाबी सन्डे टाइम्सले गरेको छ ।

सन्डे टाइम्सको आइतबार प्रकाशित विशेष रिपोर्टमा हमामले थापालाई सन् २०१० को मार्च र अगस्टमा उक्त रकम उपलब्ध गराएको उल्लेख छ । कतारलाई सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्ने अधिकार दिलाउन हमामले थापालाई करिब एक करोड ८२ लाख ५४ हजार दुई सय ७३ रुपैयाँ दिएको हो ।

त्यतिबेला हमामबाट आथिर्क लाभ लिनेमा दक्षिण एसियाली राष्ट्रका अन्य फुटबल पदाधिकारी पनि रहेको समाचारमा उल्लेख छ । समाचारअनुसार हमामले ब्याङकिङ कारोबार गर्ने ‘केम्पो कम्पनी’ मार्फत सम्बन्धित व्यक्तिको खातामा उक्त रकम पठाएका थिए ।

सन् २०१० मा थापा दक्षिण एसियाली फुटबल महासंघको अध्यक्ष थिए । हमामले दक्षिण एसियामा बंगलादेशलाई २५ हजार, पाकिस्तानलाई १५ हजार र अफगास्तिानलाई ४० हजार पाउन्ड दिएको दाबी अखबारले गरेको छ ।
दुई वर्षअघि पनि एन्फा अध्यक्ष थापाका छोरा गौरव थापालाई हमामले एक लाख अमेरिकी डलर दिएको समाचार सार्वजनिक भएको थियो ।
त्यतिबेला एन्फा अध्यक्ष थापाले हमाम र गौरवको व्यक्तिगत लेनदेन भएको दाबी गरेका थिए ।  गौरवले व्यक्तिगत ऋणस्वरुप सन् २००९ को जुलाइमा दुईपटक गरी हमामसँग पैसा लिएको र त्यो ऋण चुक्ता गरिसकेको दाबी थापाले गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us