नेप्से सूचक तथा कारोबार रकम बढ्दा ८ अर्ब १४ करोडको सेयर किनबेच

काठमाण्डु टुडे २०७८ असार ३१ गते १८:०२ मा प्रकाशित

काठमाण्डु, ३१ असार– नेप्से सूचक तथा कारोबार रकम दुवै बढेको छ । अघिल्ला दिन झिनो अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने ११ दशमलव ३३ अंकले बढेर २८ सय ८३ दशमलव ३८ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९३ अंकले बढेर पाँच सय ४१ दशमलव ३३ अंकमा पुगेको छ ।

दुई सय २३ वटा कम्पनीहरुको ७३ हजार दुई सय ७२ पटकको कारोबारमा पाँच करोड ८५ लाख दुई हजार एक सय नौ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम आठ अर्ब १४ करोड ३६ लाख १४ हजार तीन सय दुई रुपैयाँ पुगेको छ ।

१३वटा समूहको कारोबार भएकोमा सात वटा समूहको सूचक बढेर छवटा समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक छ दशमलव तीन अंकले बढेर १९ सय ६४ दशमलव २६ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक पनि ३६ दशमलव २६ अंकले बढेर १४ हजार १६ दशमलव ११ अंकमा पुगेको छ ।

यीबाहेक जलविद्युत, फाइनान्स, टे«डिङ, लघुुवित्त र सामूहिक लगानी कोष समूहहरुको सूचक पनि बढेका छन् । विकास बैंक समूहको सूचक भने १३ दशमलव ६६ अंकले घटेर चार हजार छ सय १६ दशमलव ७७ अंकमा झरेकोमा जीवन बिमा, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

आज रैराङ हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव ९१ प्रतिशतले बढेर चार सय २८ रुपैयाँमा कारोबार हुँदा कृषि विकास बैंकको ऋणपत्रको प्रतियूनिट सेयर मूल्य तीन दशमलव ९० प्रतिशतले घटेर एक हजार ८३ रुपैयाँमा कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us