काठमाण्डु, २४ आसार– लगातार घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने २३ दशमलव ७६ अंकले बढेर २८ सय २४ दशमलव ८९ अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४१ अंकले बढेर पाँच सय २९ दशमलव ६६ अंकमा पुुगेको छ । दुई सय २३ कम्पनीको ५१ हजार आठ सय ६८ पटकको कारोबारमा एक करोड ३१ लाख ४३ हजार दुई सय ४० कित्ता सेयर खरिद बिक्री भएकामा आज कुल कारोबार रकम चार अर्ब ८१ करोड ५५ लाख २० हजार दुई सय ९४ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समूहको कारोबार भएकोमा दुईवटा समूहको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १७ दशमलव ८१ अंकले बढेर १९ सय २७ दशमलव ४४ अंकमा चढेकोमा जलविद्युुत समूहको सूचक पनि ५२ दशमलव छ अंकले बढेर २७ सय २८ दशमलव आठ अंकमा चढेको छ ।
ट्रेडिङ र समूहको सूचक भने आज घटेका छन् । आज गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९३ प्रतिशतले बढेर चार सय ७६ रुपैयाँमा कारोबार हुँदा कर्पोरेट डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य भने तीन दशमलव ६१ प्रतिशतले घटेर आठ सय रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी आज नेपाल बैंकको प्रतिकित्ता चार सय ३८ रुपैयाँ अन्तिम मूल्यमा २१ करोड १८ लाख १९ हजार चार सय ६९ रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको यो कारोबार रकम आज भएका कम्पनीहरुको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
यसैगरी जीवन बिमा समूहको सूचक पनि ४२ दशमलव दुई अंकले बढेर १६ हजार नौ सय २५ दशमलव ८८ अंकमा चढेकोमा विकास बैंक, निर्जीवन बिमा, लघुवित्त, होटेल तथा पर्यटन, फाइनान्स, उत्पादनमूलक, सामूहिक लगानी कोष र लगानी समूहको सूचकहरु पनि बढेका छन् ।