
काठमाण्डु, १९ जेठ–एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले वरिष्ठ नेता माधवकुमार नेपाल रुसी राष्ट्रपपति भ्लादिमिर पुटिन बन्न खोजेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लबमा सोमबार भएको कार्यक्रममा ज्ञवालीले पार्टीको आगामी नेतृत्वका लागि माधवकुमार नेपालको उम्मेदवारी निर्वाचनअघि फिर्ता हुने दाबी गर्दै नेता केपी ओली सर्वसम्मतिले अध्यक्ष बन्ने ठोकुवा गरे । उनले नेपाल गान्धी, मण्डेला, गणेशमान, वीपी कोइराला र मनमोहन अधिकारीजस्तो भएर अभिभावक बन्नुपर्नेमा पुटिनजस्तो भएको टिप्पणी गरेका हुन् ।
रुसी राष्ट्रपति पुटिन दुई कार्यकाल राष्ट्रपति भएपछि संविधान संशोधन गरेर एक कार्यकाल प्रधानमन्त्री भएर फेरि राष्ट्रपति भएका हुन् । उनले माधव नेपाल सर्वसम्मतिमा १५ वर्षभन्दा बढी कार्यकारी अधिकारसहितको महासचिव बनेको उल्लेख गर्दै अहिले टिमले पार्टी चलाउने र अध्यक्ष सेरोमोनियल हुने घोषणा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बन्ने सोचको उपज भएको टिप्पणी गरे । उनले अध्यक्ष झलनाथ खनाल र माधव नेपाल दुवैजना अभिभावक बन्नुपर्ने बताए ।
‘झलनाथ खनाल र माधव नेपाल पार्टीको अभिभावक हुने हो’, ज्ञवालीले भने, ‘नभए १९ सय प्रतिनिधिले केपी ओलीलाई अध्यक्ष बनाउँछन्, ओलीकै विचार ओलीकै नेतृत्व हुन्छ ।’
उनले असार १९ गतेको लागि तय भएको पार्टीको महाधिवेशन कुनै हालतमा नरोकिने समेत प्रष्ट्याए ।