
काठमाण्डु, १९ जेठ– नेतृत्व चयनका लागि भएको निर्वाचन परिणाम अस्वीकार गर्ने बताएको एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको महत्वपूर्ण पदमा आफ्नो पक्षले जिम्मेवारी पाउनुपर्ने दाबी गरेको छ ।
भट्टराई पक्षले आफू चुनिएको पदमा नबसे पनि सोही हैसियतमा जिम्मेवारी मागेको हो । गत साता भएको निर्वाचनमा भट्टराई पक्षका पदाधिकारीमा उनीसहित दुई, स्थायी समितिमा दुई र पोलिट्ब्युरोमा सात जना निर्वाचित भएका थिए ।
निर्वाचनलाई नौटंकीको संज्ञा दिएको सो पक्षले जिम्मेवारी बाँडफाँडमा सम्मानजनक हिस्सा खोजेपछि माओवादीभित्र थप विवाद देखिएको छ । यसअघि भने सो पक्षले विशेष महाधिवेशनसम्म केन्द्रीय समितिभन्दा उपल्लो कार्यकारी पदमा नबस्ने घोषणा गरेको थियो ।
जारी केन्द्रीय समिति बैठकमा महासचिव कृष्णबहादुर महराले पेश गरेको कार्यविभाजनसम्बन्धी प्रस्तावमा भट्टराईलाई संसदसहित अध्ययन अनुसन्धान विभाग र उनी पक्षधर सचिव टोपबहादुर रायमाझीलाई संसदीय दलको उपनेता प्रस्ताव गरिएको छ ।
भट्टराई पक्षीय नेता नेता देवेन्द्र पौडेलले पद नलिए पनि जिम्मेवारी भने पाउनुपर्ने बताए । ‘हामीले पद नलिए पनि जिम्मेवारी पाउनुपर्छ भनेका छौं’, पौडेलले भने, ‘अरु सचिव सरहको जिम्मेवारी टोपबहादुरजीलाई दिनुपर्छ र स्थायी समितिका अरुले पाएजत्तिको जिम्मेवारी हामीले पनि पाउनुपर्छ ।’
संस्थापन पक्षका नेताहरु भने निर्वाचन परीणाम स्वीकार नगरेका नेतालाई केन्द्रीय सदस्यभन्दा माथिको जिम्मेवारी दिन नहुने अडानमा छन् । स्थायी समिति सदस्य अग्नि सापकोटाले भट्टराई पक्षलाई हैसियतअनुसारको जिम्मेवारी दिइएकाले विवाद गर्नुको तुक नभएको बताए ।
‘टोपबहादुरजीलाई संसदीय दलको उपनेता दिइएकै छ, देवेन्द्र पौडेललाई अनुगमनको जिम्मा दिने भनिएको छ’, सापकोटाले भने, ‘त्यसलाई कसरी जिम्मेवारी नदिएको भन्न मिल्छ र ?’ उनले भट्टराई पक्षले केही दिनभित्रै निर्वाचनले दिएको जिम्मेवारी स्वीकार गर्ने दाबीसमेत गरे ।