
काठमाण्डु, १९ जेठ – यो वर्षको इन्डियन प्रिमियर लिग आइपीएलको उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ ।
गएराति भएको फाइनलमा किंग्स इलेभेन पञ्जावलाई ३ विकेटले हराउँदै कोलकाताले उपाधि उचालेको हो । कोलकाताले आइपीएल उपाधि जितेको यो दोश्रो पटक हो ।
पञ्जावले दिएको २ सय रनको लक्ष्य कोलकाताले सात विकेटको क्षतिममा ३ बल बाँकी छँदै पूरा गर्यो । कोलकाताको जितमा मनिष पाण्डेले ५० बलमा ६ छक्का र ७ चौकाको मद्धतले सर्वाधिक ९४ रनको योगदान गरे । पाण्डेले म्यान अफ द म्याचको उपाधिसमेत पाए ।
अन्तिम ओभरमा ५ रन चाहिएको अवस्थामा पियुष चावलाले परविन्द्र अवानको बलमा चौका प्रहार गरेर कोलकाताको जित सुनिश्चित गरे । कोलकाताका युसुफ पठानले ३६, कप्तान गौतम गाम्भीरले २३, पियुष चावलाले १३ र सकिव अल हसनले १२ रनको योगदान गरे ।
टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । उसका लागि ऋद्धिमान साहले १ सय १५ र मनन बोहराले ६७ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।