बेलायती मन्त्री अाज नेपाल आउँदै

काठमाण्डु टुडे २०७१ जेठ १९ गते ३:५० मा प्रकाशित

काठमाण्डु, १९ जेठ– बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायर नेपालको तीनदिने औपचारिक भ्रमणका सिलसिलामा काठमाण्डु आउने भएका छन् ।
नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको २०० वर्ष पुग्न लागेको सन्दर्भमा पारस्परिक सम्बन्ध सुदृढ तुल्याउने तथा सहयोगका थप क्षेत्रहरू पहिल्याउने उद्देश्यले राज्यमन्त्री स्वायर आज नेपाल आउन लागेका हुन् ।

उनले नेपाल बसाइका क्रममा नेपालको पछिल्लो राजनीतिक अवस्था तथा संविधानसभा निर्वाचनपछि गठित संयुक्त सरकार र त्यसले अघि सारेका समाजिक–आर्थिक विकास योजनालगायत विषयमा उच्च सरकारी अधिकारीहरूसँग छलफल गर्नेछन् ।
स्वायरले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बेलायती मन्त्रीले नेपाल–बेलायत सम्बन्धबारे त्रिचन्द्र क्यापम्पसमा आयोजना हुने एक कार्यक्रममा प्रवचन दिनेछन् भने पोखरा पुगेर गोरखा कल्याणकारी योजनाबारे जानकारी लिनेछन् ।

नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।  बेलायतले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गर्दैै आएको छ ।
नेपालको विकासका लागि बेलायतले वार्षिक १० करोड ६० लाख  स्टर्लिङ पाउन्ड प्रदान गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us