लुम्बिनी प्रदेशका कोरोना अस्पताललाई १ करोड ७५ लाख बजेट

काठमाण्डु टुडे २०७८ वैशाख १४ गते १३:०८ मा प्रकाशित

बुटवल, १४ बैशाख– कोराना संक्रमणको जोखिम बढ्दै गएपछि अपस्पतालमा अक्सिजनयुक्त बेड अभावमा संक्रमितले उपचार नपाएपछि चौतर्फी आलोचित बनेको लुम्बिनी प्रदेश सरकारले चारवटा कोरोना विशेष अस्पताललाई एक करोड ७५ लाख रुपैयाँ बजेट दिने निर्णय गरेको छ ।

प्रदेश सरकारले एक वर्षअघि नै कोरोना विशेष अस्पतालहरुमा एचडीयू बेड थप्ने निर्णय गरेपनि कार्यान्वयन नहुँदा संक्रमितले उपचार पाउन सकेका छैनन् । कोरोना उपचार तथा रोकथाम कोष निर्देशक समितिको बैठकले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, दाङको बेलझुण्डीस्थत अस्पताल र भेरी अस्पताल नेपालगञ्जलाई ५० लाख रुपैयाँका दरले र भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

यो बजेट अन्य शीर्षकबाट रकमान्तर गरी यथाशीघ्र उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री बैजनाथ चौधरीले बताए ।

उनका अनुसार सम्बन्धित मन्त्रालयले एक दुई दिनमै उक्त बजेट उपलब्ध गराउने छ । यस्तै कोरोना रोकथाम तथा उपचार कोषमा प्रदेश सरकारले १० करोड रुपैयाँ थप गर्ने निर्णय पनि गरेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा औसत दैनिक ७ सयजना कोरोना सक्रमित थपिंदै गएका छन् । हाल उपचाररत करिब २ सयजना संक्रमितमा गम्भीर स्वास्थ्य समस्या देखिएका छ ।

अस्पतालमा बेड नहुँदा संक्रमितलाई अन्यत्र रिफर गर्नु पर्ने बाध्यता रहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। राजेन्द्र खनालले बताए । लुम्बिनी प्रदेशका ७ वटा निजी अस्पतालले ३३४ बेड कोरोना संक्रमितको लागि छट्टाएको भनेपनि उपचारको लागि बेड उपलब्ध गराएका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us