काठमाण्डु, १४ चैत– सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति रु ५८ अर्बभन्दा बढी पुगेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सैनिक कल्याणकारी कोषको रकम गत पुस मसान्तसम्म रु ५८ अर्बभन्दा बढी पुगेको हिताधिकारीलाई जानकारी दिए ।
कोषको उचित प्रयोग, मितव्ययिता र पारदर्शीता ध्यानमा दिँदै सुविधालाई विकेन्द्रित, पारदर्शी एवं परिणामुखी तुल्याउँदै लगिएको बताइएको छ । सेनाले कोषमार्फत बहालवाला, भूपू सैनिक र एकल महिलाका परिवारलाई शिक्षा, स्वास्थ्य, सीप, स्वरोजगार र सुविधामा प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।
सैनिक र आश्रित परिवारलाई सुरक्षित भविष्यतर्फ अग्रसर गराउन शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार तथा सुविधामा जोड दिँदै आएको बताउँदै प्रधानसेनापति थापाले भने, “भूपू सैनिकलाई प्रोत्साहन गर्न, कमजोर आर्थिक स्थिति र सामाजिक अवस्थाबाट जीवनस्तर उकासी समाजमा सम्मानजनक जीवनयापन गर्न सकून् भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित छ ।”
उक्त कोषबाट प्रत्यक्ष सेवा प्राप्त गर्ने वहालवालाका अतिरिक्त भूपू सैनिक र एकल महिलाको सङ्ख्या ८६ हजार छ । उक्त कोषसँग प्रत्यक्ष वा परोक्ष जोडिन वहालवाला, भूपू सैनिकका आश्रित व्यक्तिको सङ्ख्या आठ लाखभन्दा बढी रहेको जनाइएको छ ।