
काठमाण्डु, ४ चैत– जनता समाजवादी पार्टीका नेता एवं सांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी ओली आफूहरुका मागमा सकारात्मक रहेको दाबी गरेका छन् ।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कर्णले संविधान संशोध, नागरिकता र सांसद रेशम चौधरीको रिहाइलगायत आफूहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री ओली तयार देखिएको उल्लेख गरे ।
‘हाम्रा मागहरुप्रति प्रधानमन्त्री केपी ओली सकारात्मक देखिनुभएको छ’, कर्णले भने, ‘जसपाले उठाउँदै आएका राजनीतिक मुद्दालाई संवैधानिक र कानूनी प्रक्रियाअनुसार सम्बोधन गर्न उहाँ तयार हुनुभएको मैले पाएको छु ।’
फरक प्रसंगमा कर्णले जसपा नेतृत्वमा सरकार गठनको सम्भावना नरहेको बताए । सानो शक्तिको नेतृत्वमा सरकार बन्दा अरुको हत्केलामा हुने र जहिलेसुकै पल्टाइदिन सक्ने भएकाले सरकार नेतृत्वमा आफूहरुको दाबी नरहेको स्पष्ट गरे ।