एमाले–माओवादी बस व्यवसायीबीच एकता

काठमाण्डु टुडे २०७७ चैत १ गते १०:४२ मा प्रकाशित

काठमाण्डु, १ चैत– नेताहरुबीच सत्तोसराप र पानी बाराबार रहेको अवस्थामा एमाले र माओवादी सम्वद्ध बस व्यवसायीबीच भने अभूतपूर्व एकता देखिएको छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. को अधिवेशनमा ती दुई दलनिकट बस व्यवसायीले सहकार्य गरेका हुन् । अधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा एमाले–माओवादी गटबन्धनका उम्मेदवार विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा एमाले–माओवादी गठबन्धनका दुई तिहाई बढी उम्मेदवार विजयी भए ।

११ सदस्यीय समितिका ८ पदमा गठबन्धनले जित हात पारेको हो । काँग्रेस सम्बद्ध व्यवसायीले भने तीन स्थानमा मात्र चित्त बुझाए । एमाले–माओवादी गठबन्धनले दधिराम खरेल र काँग्रेसले पदम गाहाको नेतृत्वमा प्यानल बनाएर निर्वाचन लडेका थिए । खरेल माओवादीनिकट हुन् । उनी यसअघि पनि प्रा.लि. का अध्यक्ष थिए ।

खरेल प्यानलबाट उनीसहित जीवनकुमार बञ्जाडे, रामचन्द्र भुसाल, मोहन पीएस, चेतनारायण बेलवासे, नारायणप्रसाद घिघिरे, गोपाल पौडेल र कृष्णप्रसाद सापकोटा विजयी भएका छन् ।

गाहा प्यानलबाट गाहासहित कृष्णप्रसाद पाण्डे र सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् । निर्वाचनमा विजयी सदस्यमध्येबाट अध्यक्ष र पदाधिकारी चयन हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us