काठमाण्डु, २० फागुन– लगातार ओरालो लाग्दै आएको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार भने ९० अंकले बढेको छ ।
शेयर बजार मापक नेप्से ९०.६७ अंकले बढेर २ हजार ५ सय ६.६८ बिन्दुमा पुगेको छ । बजार ओरोला लाग्दा निराश बनेका लगानीकर्ता नेप्सेमा सुधारसँगै उत्साहित भएका छन् । बुलिस ट्रेन्डबाट केही दिनयता लगातार नेप्से ओरालो लाग्दा शेयर बजारका लगानीकर्ता आत्तिएका थिए । लगानीकर्ता मुनाफा बुक गर्नतिर लोगपछि बजार ह्वात्तै घटेको थियो । बिहीबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १४ दशमलब ६७ अंकले बढेको छ ।
सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएपछि त्यसको सकारात्मक प्रभाव बजारमा परेको विश्लेषणसमेत गरिएको छ । बजार फेरि पुरानै लयमा फर्कने शेयर विश्लेषकहरुको अनुमान छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । बिहीबार व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.१ प्रतिशतले वृद्धि भएको छ । लघुवित्त र लगानी उपसमूहको परिसूचक ५ प्रतिशत तथा जलविद्युत उपसमूहको ४.७८ , जीवन बीमा ३.५, बैंकिङ २.९६, होटल तथा पर्यटन २.९९, विकास बैंक २.४७ र फाइनान्स २.७८ प्रतिशतले बढेको छ । बिहीबार शेयर बजारमा ६ अर्बको मात्र कारोबार भयो ।
कूल २० सय ६ वटा कम्पनीको ६५ हजार १७४ पटकको कारोबारमा ६ अर्ब ५ करोड ८१ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । यस्तै ८ कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए ।
चन्द्रागिरी हिल्स, लिबर्टी इनर्जी, सूर्योदय लघुवित्त, किसान लघुवित्त, इन्फिनिटी लघुवित्त, हिमालय पावर पार्टनर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र नेशनल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
म्युचुअल फण्ड र डिबेञ्चर शेयरको मूल्य भने घटेको छ ।
‘