काठमाण्डु, १३ फागुन–साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्सेमा पहिरो गएको छ ।
नेप्से ४४.९४ अंकले घटेर २५ सय ५४.१३ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से १३.०४ अंक बढेर २५ सय ९९.५६ विन्दुमा बन्द भएको थियो । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।
बुधबार ६ अर्ब ७० करोड रुपैयाँ कारोबार भएको शेयर बजार बिहीबार ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार रुपैयाँ कारोबार भयो । २०६ कम्पनीको ८३ हजार ४०७ पटकको कारोबारमा १ करोड ५८ लाख ५६ हजार कित्ता शेयर खरिदबिक्री भए । ‘क’ वर्गका कम्पनीहरुको सेन्सेटिभ इण्डेक्स ८.५३ अंक घटेर ४६१.८१ विन्दुमा झरेको छ ।
बिहीबार कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक २.१७ प्रतिशतले घटेको छ । बैंकिङ्ग, व्यापार, हाइड्रोपावर, जीवन र निर्जीवन बीमा तथा लघुवित्त उपसमूहका परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।
बिहीबार चन्द्रागिरी हिल्सका लगानीकर्ताले सर्वाधिक कमाए । यस्तै सबैभन्दा धेरै कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को भयो ।