काठमाण्डु, ४ फागुन– शेयर बजार परिसूचक नेप्सेले इतिहासकै नयाँ रेकर्ड कायम गरेको छ ।
साताको तेश्रो कारोबार दिन १५. ५० अंकले बढेर नेप्से २६०१.५१ बिन्दुमा पुगेको छ । यो इतिहासमै हालसम्मको उच्च बिन्दु हो । यसअघि सोमबार ९२ अंकले बढेर नेप्सेले नयाँ रेकर्ड बनाएको थियो । बैंकिङ उपसमूहमा ग्राहकको आकर्षण बढेका कारण नेप्से उकालो लागेको हो । बैंकिङ उपसमूहको सूचक सबैभन्दा धेरै २.०८ प्रतिशतले बढेको छ ।
मंगलबार सेन्सेटिभ इन्डेक्स पनि ४.०९ अंकले वृद्धि भएको छ भने कारोबार रकम १० अर्ब नाघेको छ । मंगलबार नेप्सेमा सूचीकृत २ सय ८ वटा कम्पनीको १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९ सय ५५ रुपैयाँ बराबरको १ करोड ७७ लाख ३२ हजार ७ सय ६५ कित्ता शेयर कारोबार भए । नेप्सेले नयाँ रेकर्ड बनाउँदा पनि कारोबारमा आएका १ सय १५ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी ५३ कम्पनीका शेयर मूल्य बढेका छन् ।
सात कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । चार चन्द्रागिरि हिल्स, नेपाल इन्फ्रास्टक्चर बैंक, मिर्मिरे माइक्रोफाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सनराइज फस्ट म्युचुअल फण्ड र हिमालयन उर्जा विकास कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो । सिद्धार्थ बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक र एनएमबि बैंकका शेयरमूल्य समान ४ प्रतिशतले बढेको छ ।