काठमाण्डु, २८ माघ– सरकारले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।
बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेल र खाना पकाउने एलपी ग्यासमा मूल्य वृद्धि भएको हो । पेट्रोल,डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ तथा ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ ।
मूल्य बढेसँगै काठमाण्डु उपत्यकामा अब पेट्रोलको मूल्य प्रतिलटिर १ सय १२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य समान ९५ रुपैयाँ कायम हुनेछ । यस्तै ग्यासको मूल्य सिलिण्डरको १४ सय रुपैयाँ पर्ने भएको छ । हवाई इन्धनको मूल्यमा भने वृद्धि गरिएको छैन ।
मूल्यवृद्धि गर्दासमेत निगमलाई पेट्रोलको लिटरमा ५ रुपैयाँ १६ पैसा र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ १ पैसा नोक्सान हुने निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए । उपाध्यायले एलपी ग्यासमा अ अझै प्रति सिलिन्डर २ सय ९५ रुपैयाँ ८३ पैसा घाटा रहेको उल्लेख गरे । अझै निगमललाई मासिक डेढ अर्ब रुपैयाँ घाटा हुने दाबी निगम प्रशासनको छ ।