इन्फ्रास्टक्चर बैंकको आईपीओ बाँडफाँट, भरेका जति सबैलाई सेयर

काठमाण्डु टुडे २०७७ माघ १६ गते ११:२४ मा प्रकाशित

काठमाण्डु, १६ माघ– नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सर्वसाधारणका लागि वितरित साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले शुक्रबार कार्यालय समय सुरु भएलगत्तै शेयर बाँडफाँट गरेको हो । निफ्राको साधारण सेयर नेपाली सेयर बजारको इतिहासमै आजसम्मको ठूलो हो । बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासन गरेको थियो । निफ्राले साधारण सेयरका लागि ८ करोड कित्ता सेयर छुट्याएको थियो ।

जसमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि भने बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो । १५ लाख २९ हजार ४६० आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन दिएका थिए । यो माग गरिएभन्दा २.३९ गुणाले बढी हो ।

कूल आवेदनमध्ये १४ लाख ७५ हजार ८० आवेदन मात्र योग्य ठहरिएको निष्काशन तथा बिक्री प्रवन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । योग्य आवेदकमध्ये ४ लाख ९२ हजार ७२ जनाले ६० कित्ता तथा बाँकी सबैले ५० कित्ताका दरले प्रक्रिया नपुगेका ६ हजार २ सय ७६ वटा आवेदन रद्द भएको छ । साधारण सेयर निस्काशन भएसँगै बैंकको चुक्ता पूँजी १२ अर्बबाट बढेर २० अर्ब पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us