शिक्षण र धुलिखेल अस्पतालमा दुई खोपको तेस्रो चरणका ट्रायल गरिँदै

काठमाण्डु टुडे २०७७ पुष २७ गते ७:२१ मा प्रकाशित

काठमाण्डु, २७ पुस– अस्ट्रेलियन कम्पनीहरु क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड–१९ खोपको नेपालमा तेस्रो चरणका ट्रायल गर्न तयारी भइरहेको छ ।

चिनियाँ कम्पनी सिचुवान क्लोभर बायोफार्मास्युटिकल्सको भगिनी कम्पनी क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलियाले उत्पादन गरेको खोपको अनुसन्धानका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले ‘इथिकल अपरुभल’ (नैतिक स्वीकृति) दिइसकेको छ । यस्तै भ्याक्जाइनले उत्पादन गरेको ‘कोभ्याक्स–१९’ खोपको ट्रायलका लागि पनि प्रक्रियाहरु अगाडि बढेको छ ।

दुई खोपमध्ये क्लोभरको खोप कोभ्याक्स अन्तर्गतको हो । यसको ट्रायल काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल तथा धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय अन्तर्गतको धुलिखेल अस्पतालमा गर्न लागिएको हो । यसका लागि दक्षिण कोरियास्थित इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई)ले सहयोग उपलब्ध गराएको छ ।

यस्तै, अस्ट्रेलियन खोप ‘कोभ्याक्स–१९’ भने एनएचआरसीकै नेतृत्वमा ट्रायल गर्न लागिएको हो भने सम्पूर्ण आर्थिक भार कम्पनी स्वयंकै हुने छ । यसको तयारी प्रारम्भिक चरणमा नै रहेकोले थप जानकारी हाललाई उपलब्ध गराउन नमिल्ने एनएचआरसीका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले बताए ।

शिक्षण अस्पतालमा हुने ट्रायलको नेतृत्व गरिरहेकी त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) की डिनसमेत रहेकी मिर्गौला रोग विशेषज्ञ डा। दिव्यसिंह शाहका अनुसार आईभीआईको सहयोगमा हुन लागेको ट्रायल कुल १८ सय जनामा गरिने छ । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us