काठमाण्डु , २५ साउन— साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । आज नेप्से ११ दशमलव ३० अंकले बढेर १ हजार ३९२ दशमलव ६८ विन्दुमा कायम भएको हो ।
नेप्सेका अनुसार आज ९१ करोड १६ लाख ४० हजार बढीको कारोबार भएको छ । आज नेप्सेमा होटलबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ।सबैभन्दा बढी जीवन बीमा १२९ र निर्जीवन बीमा १०३ अंकले उकालो लागेका छन् । होटल समूह भने २७ अंकले घटेको छ ।
आज नेप्सेमा एक सय ८७ कम्पनीको ३० लाख ३० हजार कित्ता शेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी अजोड इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको कूल ९ करोड २० लाख कित्ता शेयर किनबेच भएको हो ।
आइतबारको बजारमा हालै नेप्सेमा सूचीकृत भएका दुई नयाँ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अजोड इन्स्योरेन्स र साधना लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य क्रमशः ९.८८ र ९.८२ प्रतिशतले बढेर सर्किट लागेको हो । यी दुईको सेयर मूल्य क्रमशः प्रतिकित्ता ४ सय ६७ र ४ सय ३६ रुपैयाँ रहेको छ ।
त्यस्तै, नेपाल बैंकको शेयर मूल्य ६.४८ प्रतिशतले बढेर प्रतिकित्ता २ सय ६३ रुपैयाँ पुगेको छ । बैंकले आज मात्रै गत आर्थिक वर्षको असार मसान्तको वित्तीय विवरण सार्वजनिक गरेको थियो ।