
काठमाण्डु, २ जेठ –राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव युवराज लामाले आफ्नो बर्खास्तीका बिषयलाई लिएर अदालत जाने बताएका छन् ।
लामा सहित पाँच जनालाई खेलकूद मन्त्री पुरुषोत्तम पौडेलले आज पदबाट हटाएका छन् । आफू बर्खास्ती भएको समाचार सञ्चार माध्यमबाट थाहा पाएको बताउँदै लामाले भने ‘ यो बिषयमा मलाई औपचारिक जानकारी छैन । ’
मन्त्रीले सिधै हटाउन नमिल्ने लामाको तर्क छ । लामाले भने ‘ मलाई मन्त्रीपरिषद्ले नियुक्त गरेको हो, मन्त्रीले हटाउन मिल्दैन । ’ मन्त्रीको निर्णय अदालतको नजिर र बिद्यामान कानूनको बर्खिलापमा भएको लामाको भनाई छ ।
मन्त्रीको कदम गैरकानूनी भएकाले कानूनी उपचारका लागि अदालत जाने लामाले बताए ।
लामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारका बेला राखेपमा नियुक्त भएका थिए ।
मन्त्री पौडेलले लामालगायतलाई सार्वजनिक समारोहमा बन्दुके, झोले भन्दै आलोचना गर्दै आएका थिए । मन्त्री पौडेलले लामासहित इन्द्रबहादुर थिंग, कुशुमकुमारी श्रेष्ठ, नम्बरी शेर्पा हेल्मो, मुकुन्दबहादुर पहरी, पहलसिंह घर्ती मगरलाई शुक्रबार बर्खास्त गरेका छन् ।