तेन्दुलकरलाई ‘लौरेस स्पोर्टिङ मोमेन्ट’ अवार्ड

काठमाण्डु टुडे २०७६ फागुन ६ गते १७:२८ मा प्रकाशित

काठमाण्डु,६फागुन– क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकर ‘लौरेस स्पोर्टिङ मोमेन्ट’ पुरस्कारबाट सम्मानित भएका छन । उनलाई जर्मनीको बर्लिनमा आयोजित एक समारोहबीच उक्त पुरस्कार प्रदान गरिएको छ ।

सन् २०११ मा भारतले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको विश्वकप जितेपछि सचिन तेन्दुलकरलाई टोलीका सदस्यले आफ्नो काँधमा राखेर रङ्गशालामा परेड गराएका थिए । तेन्दुलकरलाई परेड गराइएको उक्त क्षणले पछिल्लो दुई दशकमा ‘खेलकूदले सर्वसाधारणलाई असाधारण रुपमा एकताबद्ध’ गरेको भन्दै उनलाई पुरस्कृत गरिएको हो ।

टेनिसका महान खेलाडी बोरिस बेकरले पुरस्कृत हुनेको नाम घोषणा गरेका थिए । उनलाई अष्ट्रेलियाली क्रिकेट टोलीका पूर्वकप्तान स्टिभ वाले ट्रफी हस्तान्तरण गरे । पुरस्कृत भएपछि तेन्दुलकरले भने, पुरस्कृत हुनु अविष्मरणीय क्षण भएको छ, विश्वकप जितेको क्षणलाई शब्दमा उल्लेख गर्न सकिन्न, असाधारण क्षण थोरै आउँछ, जहाँ समग्र देशले नै उत्सव मनाउँछन् ।

खेलाडीको रुपमा विश्वकप २०११ सचिन तेन्दुलकरको छैठौं तर अन्तिम विश्वकप थियो । भारतीय क्रिकेट टोलीका कप्तान महिन्दर सिंह धोनीले श्रीलङ्काली बलर नुवान कुलासेकराको बलमा छक्का लगाउँदा करिब २७ वर्षपछि भारतले विश्वकप उचाल्ने अवसर प्राप्त गर्यो । तेन्दुलकरले उक्त ट्रफीलाई उचाल्ने सपना लिएर आफू २२ वर्ष अनव्रत रुपमा खेलेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us