गभर्नरले आफ्नो निर्देशन मान्न बैंकरलाई दबाब

काठमाण्डु टुडे २०७६ भदौ १२ गते १४:३८ मा प्रकाशित


काठमाण्डु,१२भदौ–एकपछि अर्को गर्दै सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निर्देशन लागू नगर्न अन्तरिम आदेश जारी गरेपछि राष्ट्र बैंकका गभर्नर डा। चिरन्जीवी नेपाल असन्तुष्ट भएका छन् ।
बिहीबार नेसनल बैंकिङ इन्स्टिच्युट एनबीआईले आयोजना गरेको बैंकका सञ्चालकहरुको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले बैंकका सञ्चालक र प्रमुख कार्यकारीको उमेर हदको विषयमा विपक्षमा आदेश दिएपछि असन्तुष्ट भएका हुन् । कार्यक्रममा उनले भने–‘व्यक्तिगत कम्पनीमा आफू बुढो भएपछि काम गर्न सक्दिन भनेर छोरा नातीलाई सुम्पने तर आमजनताको निक्षेप र लगानी रहेको बैंकमा भने आजीवन बसिरहने यो कस्तो अचम्मको चलन हो ?
बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतले राजनीतिक नेतृत्व र शक्ति केन्द्रको आडमा आफ्नो पद र कुर्सी जोगाउन खाजेको समेत उनले आरोप लगाए । उनको भनाइ थियो–‘ठूला शक्ति केन्द्र धाएर सधंै बसिरहन चाहने परिपाटी देखियो ।’ आफ्नो निरीहता र बैंकरको पहुँचबारे समेत उनले भने–‘गर्न पनि के–के सक्या हो, यो देखेर मलाई त रुनै मन लग्यो ।’
नेपाल राष्ट्र बैंकले ल्याएका जति पनि नीति निर्देशन छन् ति लामो समयको अध्ययन र अनुसन्धान पश्चात मात्रै जारी गरिएका हुनाले एक न एक दिन लागू भएरै छोड्ने उनले दाबी गरे । ‘आवश्यकता र औचित्यताको आधारमा अगाडि सारिएका नीति हुन्, एकदिन लागू हुन्छ । तपार्इंहरु शक्ति केन्द्र चाहार्न छोडिदिनुस् गभर्नर नेपालको भनाइ थियो । बैंकका सञ्चालकहरुकै कारण अहिले बैंकहरु समस्यामा परेको भन्दै गभर्नरले भने–‘ थोरै पैसा हालेर बैंकमा सञ्चालक बन्ने अनि त्यहाँ भएको सम्पूर्ण पैसा आफ्नै हो जस्तो गरी चलाउन खोज्ने गरेकै कारण बैंक समस्यामा परेका हुन्।’
नेपाल बैंकर्स एसोसिएसन बैंकका कर्मचारीहरुको सट्टा बैंक सञ्चालकहरुको संगठनका रुपमा सक्रिय हुनुपर्ने उनको सुझाव थियो । उनले हाल बैंकका सीईओहरु सदस्य रहेको र उनीहरुले आफ्नो स्वार्थ रक्षाका लागि सक्रिय बनाइराखेको बैंकर्स संघमा बैंक सञ्चालक बस्नुपर्ने धारणा राखे । उनको जोड थियो–‘बैंकर्स एसोसिएसनमा त सञ्चालक पो हुनुपर्ने त कर्मचारीले संगठन चलाइरहेका छन् । तपाई सञ्चालकले चलाउनु पर्यो त्यो संस्था।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us