अनौठो : सुन चालेर स्वरोजगार बन्न गाउँपालिकाको बजेट

काठमाण्डु टुडे २०७६ साउन २६ गते १३:११ मा प्रकाशित

रोल्पा,२६साउन– रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने योजनाका लागि अनौठो प्रस्ताव अघि सारेको छ । सो प्रस्ताव गाउँपरिषद्बाट पारितसमेत भई यसै वर्षदेखि कार्यान्वयन हुने भएको छ ।
जिल्लाको सुनिल स्मृति गाउँपालिकाले सुन चालेर युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ । उक्त योजना कार्यान्वयनका लागि चालू आर्थिक वर्षमा रु दुई लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले बताए ।
गाउँपालिका भएर बग्ने लुङ्ग्री नदीमा विगतदेखि सुन खोज्ने परम्परा रहँदै आएको थियो ।
सुनछहरी झरना रहेको स्थानमा सुनखानी रहेकाले सो झरना लुङ्ग्री नदीमा मिसिने भएका कारण स्थानीयवासीले लामो समयदेखि सुन चाल्ने काम गर्दै आएका थिए । बालुवामा सुनका कणहरुसमेत भेटिने गरेकाले त्यहाँ आश्रित युवायुवतीलाई गाउँपालिकाको तर्फबाट स्वरोजगार बनाउन यस्तो योजना अघि सारेको गाउँपालिकाले बताएको छ ।
सो नदीआसपासको क्षेत्र मगर बाहुल्य क्षेत्र भएकाले उक्त नदीलाई पछि लुङरी भन्न थालिएको बताइन्छ । मगर भाषामा लुङ भनेको ढुङ्गा र री भनेको पानी अर्थात् ढुङ्गाबाट पानी बग्ने भएकाले लुङरी भनिएको मगर भाषाका जानकारहरु बताउँछन् ।नेपाल सरकारको अनुमति लिएर चीनको एक कम्पनीले गरेको अनुसन्धानका क्रममा समेत सो झरनामा सुनखानी रहेको प्रतिवेदन बुझाएको स्थानीयवासीले जानकारी दिए ।
सुनछहरी गाउँपालिका र सुनिल स्मृति गाउँपालिका भएर उक्त नदी बग्ने गर्दछ । ती दुई गाउँपालिकाको हार्जङ, स्युरी, जैमाकसला, फगाम र मिझिङका स्थानीयवासीले लामो समयदेखि सुन चाल्दै आएका छन् । त्यसरी सुन चाल्ने पेशा अँगाल्दै आएकाहरुलाई सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले यस वर्ष सुन चालेर स्वरोजगार बन्ने योजना अघि सारेको सुनिल स्मृति गाउँपालिका–४ का वडाध्यक्ष गङ्ज क्षेत्रीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us