संसदमा कांग्रेस र राजपाको अवरोध, नाराबाजीसहित बेल घेराउ

काठमाण्डु टुडे २०७६ साउन १५ गते १२:३५ मा प्रकाशित

काठमाण्डु,१५साउन—प्रतिनिधि सभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले अवरोध गरेका छन् ।

सभामुख महराले बैठक सुरु भएको बताउन नपाउँदै प्रतिपक्षी सांसदहरु उठेर बेल घेराउ गरेका छन् । अहिले उनीहरुले संसदीय सर्वोच्चता कायम गर, निर्मलाको हत्यारा पक्राउ गर, संसदीय छानबिन समितिगठन गर जस्ता नारा संसदमा लगाइरहेको छन् ।
सभामुख कृष्ण बहादुर महराले पटक पटक आग्रह गर्दा पनि सांसदहरुले अवरोध हटाएका छैनन् । सभामुख महराले सदन अवरुद्ध हुँदा जनताको समस्या सदनमा छलफल हुन नसकेको भन्दै अवरोध हटाउन आग्रह गरिरहेका छन् । साथै सभामुखले अदालतको विचारधीन विषयमा संसदमा नबोल्न र कुनै पनि शब्द नबोल्न पनि निर्देशन दिएका छन् ।
सांसदहरुले सभामुखकै विरुद्धमा बोलेपछि सभामुख महराले भने, ‘मान्य ज्यूहरु सभामुख विरुद्ध बोल्न पाइदैन , र अदालतको विचाराधीन विषयमा पनि बोल्न मनाही छ ।’ तर सांसदहरूले सभामुख विरूद्ध के बोले भन्ने सुनिएको छैन । सभामुख महरा बोल्दा भने आवाज सुनिन्छ । सांसदहले अहिले पनि नाराबाजी गरिरहेका छन् तर नारावाजीको अडियो काटिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us