
काठमाण्डु,१३ साउन — विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी , न्यायाधीशद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैधको संयुतः इजलासले ७ करोड रुपैंयाँ भन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सीमाराका तत्काालिन नायव सुब्बा (नासु)मदन कुमार गुप्तासँग राजस्व छलिको तीन मुद्दामा ८६ लाख रुपैंयाँ धरौटी माग्ने आदेश गरेको छ ।
विशेष अदालतले नासुको पहिलो मुद्दामा सरकारी कागजात लुकाई भ्रष्टाचार गरेको अभियोगमा १ लाख रुपैंयाँ धरौटी माग्ने आदेश गरेको छ ।गुप्ताले आफ्नो कतुर्त लुकाउन गोप्य सरकारी कागजात नष्ट गर्ने प्रयास गरेका थिए भने कलैयाबाट सरुवा भएपछि राजस्व रसिद, लिखित दर्ता किताब सहित चालक निरजकुमार गुप्ताको डेरामा लुकाएको अवस्थामा अख्तियारले छापा मार्दा फेला परेको थियो ।
त्यस्तै दोस्रो मुद्दामा मालपोत कार्यालय कलैया र सिमराबाट ७ करोड ९ लाख ५७ हजार ६ सय ६० रुपैंष सरकारी राजस्व उठाएर अपचलन गरेको र अर्को नक्कली रसिद बनाएर २ करोड ५० लाख ८६ हजार ६ सय ४० रुपैंयाँ राजस्व हिनामिना गरेका गुप्ताले सक्कली रसदिबाटै संकलन गरिएको राजस्व समेत व्यतिगत खातामा जम्मा गरेका थिए ।उनलाई राजस्व छलि अभियोगमा २५ लाख रुपैंयाँ धरौटी माग्ने आदेश भएको छ । २० कात्तिक २०७४ देखि २८ साउन २०७५ सम्म उठाइएको राजस्व हिनामिना गरेको खुलेको छ ।
तेस्रो मुद्दामा सिमरा मालपोत कार्यालयमा रहँदा आठ महिनामा ४ करोड ५८ लाख ७१ हजार २० रुपैयाँ अनियमितता गरेको अभियोगमा ६० लाख रुपैया धरौटी माग्ने आदेश गरेको छ । मालपोत कार्यालय सिमरामा कार्यरत रहँदा साउनदेखि १२ फागुनसम्मको सबै राजस्व उनले व्यक्तिगत खातामा जम्मा गरेका थिए । अख्तियारले छानबिन थालेलगत्तै उनी भागेका थिए ।