उद्यमी ढकाल पश्चिमाञ्चल विकास मञ्चको अध्यक्षमा पुनः चयन

काठमाण्डु टुडे २०७६ साउन १२ गते १४:५३ मा प्रकाशित

काठमाण्डु,१२साउन —पश्चिमाञ्चल विकास मञ्चको आज राजधानीमा सम्पन्न चौधौँ वार्षिक साधारण सभाले नेपालका एकजना सफल उद्यमी चन्द्रप्रसाद ढकाललाई पुनः अर्काे कार्यकालका लागि अध्यक्ष चयन गरेको छ ।

साविकको पश्चिमाञ्चल विकास क्षेत्रका तीन अञ्चल गण्डकी, धौलागिरी र लुम्बिनीलाई समेटेर त्यस क्षेत्रको विकासका लागि राष्ट्रिय प्रयास र दृष्टिकोण जुटाउने उद्देश्यले सो मञ्चको गठन गरिएको हो ।अध्यक्ष रहेका ढकाललाई आजको साधारणसभाले पुनः अर्काे कार्यकालका लागि पनि अध्यक्ष पदमा निर्वाचित गरेको हो । नवनिर्वाचित ढकाल ग्लोबल आइएमइ बैंक, आइएमई ग्रुप र चन्द्रागिरि हिल्सका अध्यक्ष हुन् ।

उक्त मञ्चको उपाध्यक्षमा साविकको धौलागिरि अञ्चलबाट ज्ञानेन्द्रविक्रम महत, गण्डकीबाट मदन कुमार महत र लुम्बिनीबाट शोभाकर न्यौपाने तथा महासचिवमा यादव भट्टराई, सचिवमा नारायणप्रसाद तिम्सिना र कोषाध्यक्षमा योगराज कडेल शर्मा निर्वाचित भएका छन् । त्यस्तै साविकका तीन अञ्चलका सबै जिल्लाहरुबाट गरी कार्यसमितिमा १७ जना सदस्य निर्वाचित भएका छन् ।

नेपालको साविक पश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय तथा आर्थिक लगायतका क्षेत्रहरुको विकास गरी त्यहाँका प्रतिभाहरुलाई सम्मान गर्ने काम पनि सो मञ्चले गर्दै आएको छ । त्यसैगरी उक्त क्षेत्रको विविध महत्व र सम्भावनालाई उजागर गरेर उक्त मञ्चले हालैमात्र एक स्मारिका पनि प्रकाशन गरेको थियो ।सो साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले आफूहरु देशको पश्चिम क्षेत्रमा जन्मिएर विविधि कामको सिलसिलामा देशको विभिन्न भूभागमा पुगेका नागरिकले आफ्नो कर्मथलोबाट जन्मथलोलाई हेर्ने एक उत्कृष्ट माध्यमका रुपमा यो मञ्च रहेको धारणा राखे ।

अध्यक्ष चन्द्रप्रसाद ढकालले देश अहिले संघीय शासन प्रणालीमा गएको भए पनि साविकको पश्चिमाञ्चाल विकास क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि एक भएर साझा चौतारीका रुपमा काम गर्नेगरी स्थापना भएको विशुद्ध सामाजिक संस्थाका रुपमा सो मञ्च स्थापना भएकोले यसै नामबाट नै सञ्चालन गरिएको जानकारी दिए ।

उनले यस क्षेत्रको भूगोल, पर्यावरण, धार्मिक तथा सांस्कृतिक धरोहर तथा अरु कैयन् अद्धितीय सम्पदाहरुका कारण देशको पश्चिमाञ्चल क्षेत्र नेपालकै एक अलौकिक सम्भावनायुक्त क्षेत्र रहेको पनि स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us