पुनःनिर्माणमा खटिएका १९ प्राविधिक कारबाहीमा

काठमाण्डु टुडे २०७६ असार १५ गते १८:१० मा प्रकाशित

काठमाण्डु, १५ असार– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारबाही गरेको छ ।

प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिकहरु विभिन्न गैरकानूनी कार्यमा संलग्न रहेको भेटिएपछि प्राधिकरणले कारबाही गरेको हो ।  भूकम्प पीडितहरुबाट गैरकानूनी रुपमा रकम असुल गरेको, भूकम्प पीडितहरुलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको हस्ताक्षर किर्ते गरी हाजिर सिफारिस गर्ने गरेको, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र जिल्ला आयोजना कार्यान्वयन इकाईले दिएका निर्देशनहरु पालना नगरेका कारण उनीहरुलाई कारबाही गरिएको हो ।

ती प्राविधिकहरुको करार सम्झौता भंग गरी नियमानुसार कारबाही गरिएको छ ।  कारबाहीमा पर्नेमा १२ इन्जिनियर, ५ सब–इन्जिनियर र २ असिष्टेण्ट सब–इन्जिनियर छन् । तीमध्ये नुवाकोटमा ८ जना नुवाकोटमा, तीन काभ्रेपलाञ्चोकमा, दुई सिन्धुपाल्चोकमा र दोलखा तथा धादिङमा कार्यरत दुई/दुई जना छन् । त्यस्तै, भोजपुर र सोलुखुम्बुमा कार्यरत १/१ जना पनि कारबाहीमा परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us