
काठमाण्डु, १५ असार- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवालाई दुई विकल्पमध्ये एक रोज्न आग्रह गरेका छन् ।
चार वर्षे कार्यकाल फागुनमा सकिने भएकोले १४ औं महाधिवेशनको मिति अहिले नै घोषणा गरेर जाने वा संघीय संरचनाअनुसार विधान बमोजिम हुने गरी संगठन निर्माणलाई देशैभर अघि बढाउने भन्ने यकिन गर्न देउवालाई सिटौलाले आग्रह गरेका हुन् । सभापति देउवाले चाहेमा कार्यकाल विधानअनुसार एक वर्ष र संविधानअनुसार डेढ वर्ष थप गर्न सक्ने सिटौलाको भनाइ छ ।
सभापतिजीले महाधिवेशनको मिति घोषणा गरेर जानुपर्यो । होइन भने तुरुन्त संक्रमणकालीन व्यवस्थाअनुसार संगठन निर्माण गर्नुपर्यो,’ आइतबार पत्रकारहरूसँगको भेटमा सिटौलाले भने । सभापतिले नेतारकार्यकर्ताको न्यायोचित मूल्यांकन गरी जिम्मेवारी दिन नसकेको उनको आरोप छ। देश संघीय संरचनामा गए पनि प्रदेश, स्थानीय तह, वडामा संगठन नहुँदा पार्टी चलायमान हुन नसकेको उनले बताए । पार्टीको विधान, भावना, गन्तव्यलाई बुझ्न सकिएन भने पार्टी कमजोर हुन्छ,’ उनले भने, विवेक शून्य भएर पार्टी सञ्चालन गर्ने हो भने पार्टी मर्छ ।’
गल्तीहरू सच्याएर अघि बढ्न उनले सभापति देउवालाई आग्रह गरेका छन् । गल्ती नहुने गरी कसरी काम गर्ने समयमै सोच्नुपर्छ। गल्ती भइहाल्यो भने गल्ती दोहोर्याउनुहुन्न,’ उनले भने, सभापति सुध्रिएपछि अरु पदाधिकारी, केन्द्रीय सदस्यहरू सुध्रन बाध्यता हुन्छ ।’ भातृ संस्था नेपाल विद्यार्थी संघ, नेपाल तरुण दललगायतको महाधिवेशन समयमै गराउनुपर्नेमा उनले जोड दिए ।
पार्टी सभापतिलाई पार्टी कमजोर बनाउने रहर त छैन होला । बलियो बनाउने मन नै हुनुपर्छ,’ उनले भने, नेविसंघ कार्यसमितिविहीन छ । तरुण दल चार जना छन् । यसरी संगठन राखेर हुँदैन, समयमै महाधिवेशन सक्नुपर्छ ।’