नेकपामा गुटबन्दीः प्रचण्ड पक्षमा खुले भीम रावल

काठमाण्डु टुडे २०७६ असार १५ गते १६:२५ मा प्रकाशित

काठमाण्डु, १५ असार– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीमबहादुर रावलले पार्टीको कार्यदिशालाई लिएर दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नजारी विवादलाई निरर्थकको संज्ञा दिएका छन् ।

राजधानीमा आइतबार भएको एक कार्यक्रममा रावलले पार्टी विधानमै जनताको जनवाद घोषित नीति रहेकाले त्यसप्रति अनावश्यक विवाद सिर्जना गर्न नहुने बताए । ‘जनताको जनवाद पार्टीको नीति हुने सहमति शीर्ष नेताबीच भएको हो’, रावलले भने, ‘कसले र किन पार्टीको नीतिबारे यसरी विवाद सिर्जना गरेको हो ? मैले बुझ्न सकेको छैन ।’ उनले पार्टीको अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद र घोषित नीति जनताको जनवाद भएकामा कसैले शंका र भ्रम पाल्न नहुने स्पष्ट गरे । नेता रावलले सहमतिको भावनाविपरीत नचल्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई सांकेत रुपमा चेतावनी दिए । ‘सहमतिको भावनाविपरीत गइयो भने मुलुकमा अस्थिरता निम्तिने खतरा छ’, ‘रावलले भने, ‘सहमति भएका कुरामा इमान्दारिता चाहिन्छ ।’ उनले पार्टी एकताको सन्दर्भमा गरिएका सबैखाले प्रतिबद्धता पूरा गर्नुपर्ने धारणा राखे । नेकपाको आन्तरिक विधानमा अभिलिखित नीतिलाई सबैले पालना गर्नुपर्ने उनको जोड छ । उनले थपे,‘पार्टी एकीकरणका बेला भएका सहमति सबैले मान्नुपर्छ । यसबाट कोही पनि विचलित हुनुहुँदैन ।’

कसैलाई पार्टीको नीति मन नपरे केन्द्रीय कमिटिमा राख्नुपर्ने पनि उनले सुझाए । रावलले जनताले नेकपालाई ठूलो जिम्मेवारी दिएर सरकारमा पठाएको सुनाए । उनले भने,‘जनताले हामीलाई ठूलो जिम्मेवारी दिएर पठाएका छन् । संविधान, नेकपाको विधान, जनताको आकांक्षालाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्छ ।’ रावलले सरकारको कामको समिक्षा पार्टीले गर्नुपर्नेमा उक्त काम अहिलेसम्म नभएकोमा रावलले आक्रोश पोखे । उनले भने,‘यो सरकार देश र जनताप्रति जिम्मेवार बन्नुपर्छ । सरकारले आफ्ना कमजोरीहरुलाई आत्मसात गर्नुपर्छ । सरकारले देशको हितमा काम गर्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us