
काठमाण्डु, ११ असार– पुलिसले थुप्रै फरार अभियुक्त समाउँदै जेल पठाइरहेको छ । तर, पुलिसकै एकजना एसपी पुरानो केस बल्झिएर हैरान छन् ।
सवारी ज्यान मुद्दामा नक्कली चालक खडा गरी वास्तविक चालक भगाएको आरोप बल्झिँदा सिन्धुपाल्चोकको जिम्मेवारीमा रहेका मुकुन्द मरासिनी झण्झटमा परेका हुन् । सो मुद्दा हेर्नका लागि अख्तियारले अर्का एक एसपी लाई अनुसन्धान अधिकृत तोकिसकेको छ । यस्तो गम्भीर कसुरमा त्यसबेला रुपन्देही प्रहरी प्रमुख रहेका एसपी रवीन्द्र धानुकले मरासिनीलाई सचेत गराएका थिए । अहिले बल्झिएको मुद्दामा एसपी मरासिनी, तत्कालिन अनुसन्धान अधिकृत डीएसपी भीमलाल भट्टराई र सई नमराज पोखरेल तानिएका छन् ।
०७२ चैत १७ गते तिलोत्तमा नगरपालिका– ७ स्थित सिद्धार्थ राजमार्गबाट पश्चिम भित्री सडक खण्डमा वर्ष १६ का दुर्गाबहादुर केसीले चलाएको लु७प ७८६४ नम्बरको मोटरसाइकलले ७५ वर्षीय पैदल यात्रु गुरुप्रसाद आलेलाई ठक्कर दिई घाइते बनाएको थियो । उपचारका क्रममा घाइतेको मृत्यु भयो । प्रहरीले हेल्मेट नलगाएका र लाइसेन्स पनि नभएका चालक दुर्गाबहादुरलाई भगायो, सट्टामा मामा नाता पर्ने बाग्लुङ, देवीथान-१ का २४ वर्षीय मिथुन भण्डारीलाई चालकका रुपमा खडा गर्यो । तर, पीडितको जाहेरी, ट्राफिकको घटनास्थल स्केच सबैमा चालक दुर्गाबहादुर नै हुन् भन्ने खुल्छ । घटनालाई थामथुम पार्न पीडक र प्रहरीबीच रकमको लेनदेनका विषयमा छलफल चल्यो ।
यही कारण प्रहरीले चालकलाई दुई दिनसम्म पक्राउ गरेन । प्रहरीस्रोत भन्छ, ‘लाइसेन्स भएको व्यक्तिले चलाएको मोटरसाइकलबाट दुर्घटना भएको पुष्टि गर्नका लागि डिएसपीले भण्डारीउपर मुद्दा चलाउन निर्देशन दिएका हुन् । भाञ्जालाई जोगाउनका लागि मामा पक्राउ पर्न तयार भए ।’ मरासिनीमाथि दुर्घटनाको मिसिल कमजोर बनाई अदालतबाटै उम्काउने भन्दै पीडक पक्षबाट १० लाख रुपैयाँ लिएको आरोप लागेको छ । पीडक र प्रहरीबीचको संयोजन भलबारीका प्रेम थापाले गरेका थिए । पैसाको कुरा आएपछि प्रहरीले बास्तविक चालकलाई पनि पक्राउ गरी सवारी ज्यानमा मुद्दा चलाएको छ । तिनलाई दुई वर्ष एक महिना कैद सजाय भएको थियो । उनी कपिलवस्तु जिल्ला कारागारबाट०७६ वैशाख २१ मा सजायँ भुक्तान गरी छुटे । एउटा पक्षसँग पैसा लिने अनि आफूलाई अप्ठेरो पर्लाजस्तो भएपछि मुद्दा पनि चलाउने भएपछि अख्तियार तातेको हो । जनआस्था साप्ताहिबाट