मसँग ओली सरकार ढल्ने सूचना आएको छ

काठमाण्डु टुडे २०७६ असार १० गते १७:०४ मा प्रकाशित

काठमाण्डु, १० असार– राष्ट्रिय जनता पार्टी (राजापा) का महासचिव मनिषकुमार सुमनले वर्तमान ढल्ने आफूहरुसँग सूचना रहेको दाबी गरेका छन् ।
उनले केपी ओली नेतृत्वको सरकार अरु कसैका कारणले नभई आफैं ढल्ने बताए । ‘ओली सरकारले देश तथा मधेश कसैको पनि हित गर्दैन भन्ने राजपाको ठम्याई छ । हामी यो सरकार ढाल्ने ल्याकत राख्दैनौं । र, ल्याकत छैन पनि । बरु, यो सरकार आफैं ढल्ने मसँग सूचना छ ।’ उनले नेकपाभित्र अहिले ठूलो समस्या रहेको दाबी गरे ।
उनले सरकारको पछिल्लो भूमिकाप्रति आफूहरु चिन्तित रहेको सुनाए । पार्टीका केन्द्रिय सचिव तथा निलम्बित सांसद रेशम चौधरीप्रति कारागारमा पनि अमानवीय व्यवहार भएको र सुत्दा पनि हतियारधारी सुरक्षाकर्मी राखिएको बताउँदै त्यसप्रति आपत्ति जनाए ।
‘उहाँ अहिले बिरामी हुनुहुन्छ । उपचार गराइरहनुभएको छ । यसरी हतियार बन्द कोठामा राख्दा औषधिले पनि काम गर्दैन । उहाँमाथि मनोवैज्ञानिक त्रास फैलाइएको छ’, सुमनले भने ।
फरक प्रसँगमा उनले राजपा र उपेन्द्र–बाबुराम नेतृत्वको समाजवादी पार्टीबीच एकताको सम्भावना रहेको सुनाए । त्यसका लागि उपेन्द्र यादवले तत्काल सरकार छोड्नुपर्ने आफूहरुको अडान रहेको स्पष्ट पारे । उनले भने, ‘उपेन्द्रजीले तत्काल सत्ता त्याग्नुपर्छ ।’ मधेशी जनताले मधेशमा एउटै पार्टी भएको हेर्न चाहेको सुनाउँदै उनीहरुको मनोकांक्षाका लागि पनि एकता आजको आवश्यकत्ता रहेको सुमनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us