
काठमाण्डु, ९ असार– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताका बेला भएको सहमतिबाट कोही पछि हट्न नसक्ने बताएका छन् ।
सहमतिबाट पछि हटे दुर्भाग्य हुने चेतावनीसमेत उनले दिए । नेकपाका पार्टीको अन्तरिम कार्यदिशालाई लिएर पछिल्लो समय विवाद भइरहेका बेला प्रचण्डको यस्तो भनाइ आएको हो । ‘पार्टी एकता गर्दाको सहमतिबाट कोही पनि पछि फर्कन सक्दैन’, नेकपा जिल्ला कमिटी चितवनको सपथ ग्रहण कार्यक्रममा प्रचण्डले भने, ‘यदि कोही सहमतिबाट पछि हट्छ भने त्यो दुर्भाग्य हुनेछ ।’
प्रचण्डले पार्टी एकताविरोधीलाई खबरदारी गर्न देशभरका नेताकार्यकर्तालाई निर्देशन दिए । स्थायी समितिको केही दिनअघि बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदनमा रहेको अन्तरिम कार्यदिशा ‘जनताको जनवाद’ का ठाउँमा मदन भण्डारीको जनताको बहुदलीय जनवाद राख्ने प्रस्ताव राखेपछि नेकपाका विवाद बढेको छ । प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम अहिले कार्यदिशाको विवादमा फस्न नहुने र सबै विषयको छिनोफानो एकताको महाधिवेशनबाट लगाउनुपर्ने पक्षमा उभिएका छन् ।