बुढीगण्डकी निर्माणको जिम्मा गेजुवालाई दिइएको छैनः मन्त्री पुन

काठमाण्डु टुडे २०७६ असार ९ गते १७:५० मा प्रकाशित

काठमाण्डु, ९ असार– उर्जामन्त्री वर्षमान पुनले बुढिगण्डी जलविद्युत आयोजनामा कुनै चलखेल वा अनियमितता नभएको बताएका छन् ।

उनले बुढिगण्डकी राष्ट्रिय गौरबको आयोजना भएकाले बनाएरै छाड्ने उल्लेख गरे । सरकारले इपिसिएफ मोडेलमा बुढिगण्डकी बनाउनेबारे छलफल सुरु गरे पनि स्पष्ट आकार भने लिइनसकेको उनको भनाइ थियो । ‘बुढीगण्डकीमा चलखेल र अनियमितता भयो भन्ने सोह्रैआना असत्य र झुट कुरा हो’, मंगलबार प्रतिनिधिसभाका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने । मन्त्री पुनले पेट्रोलियम पदार्थमा लगाइएको करबाट ३० अर्ब रुपैयाँ संकलन भएको जानकारी दिए । त्यसमध्ये २५ अर्ब रुपैयाँ मुआब्जा वितरणमा खर्च भइसकेको बताए । मन्त्री पुनले आगाी वर्षदेखि नेपालले विद्युत निर्णयात गर्नसक्ने बताए । हाल भने पिक आवरमा भारतबाट ५ सय मेगावाट बिजुली आयात भइरहेको पनि जानकारी दिए । प्रतिनिधिसभाको सोमबारको बैठकमा काँग्रेस सांसदले बुढिगण्डकी निर्माणको जिम्मा बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनी गेजुवालाई दिएको भन्दै सरकारको आलोचना गरेका थिए ।

तर, पुनले हालसम्म बुढिगण्डकी निर्माणको जिम्मा कसैलाई नदिइएको स्पष्ट गरे । गेजुवासँग ५ महिनाअघि तीन चरणमा वार्ता भए पनि त्यसयता कुनै छलफल नभएको बताए । ‘मन्त्रिपरिषदको निर्णयअनुसार गेजुवासँग पाँच महिनाअघि तीन चरणमा वार्ता मात्र भएको हो’, मन्त्री पुनले भने, ‘त्यसयता कुनै छलफल अगाडि बढेको छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us