
काठमाण्डु, ८ असार– कमल थापा नेतृत्वको राप्रपाले खड्गप्रािद ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएको छ ।
राप्रपा केन्द्रीय समितिको विस्तारित बैठकले सरकार भ्रष्टाचार र सर्वसत्तावादी बाटोमा अग्रसर भएको निस्कर्ष निकालेको हो । त्यसका लागि अनुसन्धान र कारबाही गर्ने विभिन्न निकायलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत केन्द्रीकृत गरिएको आरोप राप्रपाको छ ।
सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बैठकका निर्णय सार्वजनिक गर्न जारी गरेको विज्ञप्तिमा संवैधानिक निकाय, राष्ट्रिय स्तरका आयोग, प्रशासन, शैक्षिक संस्था, कुटनीतिक नियोग र सुरक्षा संयन्त्रमा समेत पार्टी प्रति आस्था राख्ने व्यक्तिहरु छानीछानी राख्ने काम भएको आरोप लगाए । यस्तै राप्रपाले शक्ति पृथकीकरणको मान्यतालाई आघात पु¥याउंदै न्यायपालिकालाई समेत पार्टीकरण गर्ने प्रयास भइरहेको टिप्पणी गरेको छ । भ्रषटचारको माध्यमबाट अकुत सम्पत्ति जम्मा गर्ने काम भइरहेको आरोप पनि विज्ञप्तिमा छ । यस्तै बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी २०७७ जेठमा गर्ने निर्णय गरेको छ । राप्रपाले राज्यको चौथो अंग आमसञ्चार माध्यमलाई मिडिया काउन्सिल विधेयकमार्फत नियन्त्रण गर्ने दुष्प्रयास भएको भन्दै आपत्ति जनाएको छ ।
। प्रधानसेनापति ‘वाईपास’ गरेर सेना परिचालन गर्ने अधिकार लिन खोजिएकामा पनि राप्रपाले विरोध जनाएको छ ।
संगठित र योजनावद्ध धर्म परिवर्तन भइरहेकामा चिन्ता व्यक्त गर्दै राप्रपाले धर्म परिवर्तनको वर्तमान गतिलाई नरोक्ने हो भने यसबाट नेपालको राष्ट्रिय पहिचान संकटमा पर्ने, सदियौंदेखि नेपाली समाजमा कायम रहँदै आएको धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव र एकता खलबलिने तथा अन्तत्वगत्वा देश डरलाग्दो धार्मिक द्वन्द्वमा फस्न सक्ने खतरा पनि औंल्याएको छ ।