प्रदेश–१ को नाम केही दिनमै टुंगिने

काठमाण्डु टुडे २०७६ असार ८ गते १२:५८ मा प्रकाशित

उदयपुर, ८ असार– प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश–१ को नाम केही दिनभित्रै सहमतिबाट टुङग्याइने बताएका छन् ।

प्रेस सङ्गठन उदयपुरले आज बिहान उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले प्रदेश १ को नाम सहमतिबाट टुङ्ग्याउने अन्तिम चरणमा पुगेको बताए । प्रदेशको नाम किरात, कोशी किरात, सगरमाथा, कोशी सगरमाथा प्रदेशलगायतका विकल्पको विषयमा छलफल भएको बताउँदै उनले भने, ‘असारको दोस्रो हप्ताभित्र टुङ्गो लगाइसक्छौँ । प्रदेश नं १ को राजधानी विराटनगर राख्ने विषय सबैको सहमतिले पारित भए झैँ प्रदेशको नाम पनि सर्वसम्मत पारित गरिनेछ ।’

कृषिबाटै प्रदेशका जनताको समृद्धि गर्नका लागि प्रदेश– १ सरकारले ६० प्रतिशतभन्दा बढी आर्थिक योजना कृषिमा जोड दिएको मुख्यमन्त्री राईले बताए । अहिले सङ्घीयता र गणतन्त्रमाथि चारैतिरबाट प्रहार हुन शुरु गरेको र वर्तमान सङ्घीय सरकार तथा प्रदेश सरकारलाई असफल बनाउन बाह्य तथा भित्री शक्तिहरुसमेत लागिपरेको कारण प्रजातान्त्रिक र गणतान्त्रिक शक्ति एकजुट हुनु पर्नेमा उनले जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us