रेशम चौधरीको नेलकडी लगाएको फोटो हेरेर केपी ओली भावुक, यस्तो दिए निर्देशन

काठमाण्डु टुडे २०७६ असार ७ गते १३:२५ मा प्रकाशित

काठमाण्डु, ७ असार– बिरामी भएर अस्पतालमा उपचाररत निलम्बित सांसद रेशम चौधरीलाई नेकलडी लगाउनेमाथि कारबाही हुने भएको छ ।

प्रधानमन्त्री केपी ओलीले उक्त घटनामा संलग्न जो कोही भए पनि कारबाही गर्न मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । कैलाटीको टिकापुर हत्याकाण्डका मुख्य आरोपी चौधरी सर्वोच्चको आदेशमा आजीवन कारबासमा छन् । एक्कासि ढाडको नशामा गम्भीर समस्या देखिएपछि कारागार प्रशासनले उनलाई बिहीबार वीर अस्पताल भर्ना गराएको थियो । तर, अस्पतालमा समेत हातमा हथ्कडी र खुट्टामा नेल लगाएर राखिएको तस्वीर सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भयो ।

सामाजिक सञ्जालमा तस्वीर भाइरल बन्यो । सञ्चार माध्यमले समेत प्राथमिकताका साथ समाचार बनाएपछि प्रधानमन्त्रीको त्यसबारे ध्यानाकर्षण भएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले मुख्यसचिव रेग्मीलाई टेलिफोन गरी प्रधानमन्त्रीले नेल खोलिदिन र त्यसमा संलग्नमाथि कारबाही गर्न माग निर्देशन दिएको जानकारी दिए । ‘रेशम चौधरीको खुट्टामा नेल लगाउनेमाथि तत्काल एक्सन लिन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ’, अधिकारीले भने, ‘प्रधानमन्त्री त्यसबाट दुःखी हुनुहुन्छ ।’ यसअघि पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले चौधरीलाई जेलमै भेटेर घटनाको निन्दा गरेका थिए । उनले नेलसमेत खोलिदिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us