
नयाँ दिल्ली, ६ असार – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मार्ने धम्की आएपछि भारतीय सुरक्षा निकायमा हल्लीखल्ली मच्चिएको छ । यही महिना केरल यात्रामा गएका नरेन्द्र मोदीको हत्या गर्ने धम्की पहिले नै आएको भएपनि यतिबेला सो विषय सार्वजनिक भएको हो।
प्रधानमन्त्री नरेन्द्र मोदीलाई मार्ने धम्की सम्बन्धी जानकारी अहिले मात्रै बाहिर आएको भारतीय सञ्चार संस्था एवीपी न्यूजले जनाएको छ । प्रधानमन्त्री मोदी केरलको गुरुवायुर मन्दिरमा पूजा गर्न जानु भन्दा पहिले नै उनलाई ज्यान मार्ने धम्की आएको थियो ।
‘गुरुवायुर मन्दिरको यात्रामा नै प्रहरीहरुलाई एक खाम दिइएको थियो । खाममा एक पाँच सय रुपैयाँको नोट समेत थियो । जसमा मलयालम भाषामा पीएम मोदीलाई मार्ने धम्कीपूर्ण कुरा उल्लेख गरिएको थियो । जुन कुरालाई त्यहिँ तल अँग्रेजीमा समेत लेखिएको छ’ एवीपीले भनेको छ ।
मोदीको भ्रमणको एक दिन पहिले सात जूनका दिन यस्तो धम्कीवाला चिट्ठी पठाइएको थियो । यस खुलासापछि सुरक्षा एजेन्सीहरुले पीएम मोदीलाई आएको धम्कीलाई गम्भीरताका साथ लिएको छ ।