
कठमाण्डु, ६ असार – पार्टी र सरकार सञ्चालनमा देखिएको मतेभद समाधानको उपाय खोज्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष छलफलमा जुटेका छन् । बिहान ११ बाजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू छलफल भोलि बस्ने सचिवालय बैठकको एजेण्डा बनाउन केन्द्रीत छ।
पार्टी र सरकार सञ्चालनमा देखिएको असन्तुष्टि केन्द्रीय सदस्यको कार्यविभाजनलगायत विषयमा पहिले दुई अध्यक्षले ठोस योजना बनाउने र त्यसलाई छलफलका लागि सचिवालयमा पेश गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ।
यसअघि गत बुधबार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको लामो छलफलले सबैभन्दा पहिले राजनीतिक दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेको थियो।
स्रोतका अनुसार पार्टीको नीति र सिद्धान्त के हुने भन्नेबारे एकीकृत पार्टीका नेताहरूको मत विभाजित भएपछि अध्यक्ष प्रचण्डले सबैभन्दा पहिले राजनीतिक दस्तावेज सार्वजनिक गरौं भन्ने प्रस्ताव गरे । पछिल्लो समय नेकपाका दोस्रो वरियताका नेताहरू नै पार्टीको अबको नीतिबारे विभाजित छन्।