
गौशाला, ६ असार – महोत्तरीको गौशाला नगरपालिका–१० भरतपुरमा एक युवतीको मध्यराति विभत्स हत्या गरिएको छ । गौशाला–१० भरतपुरका विष्णुकुमार श्रेष्ठकी छोरी २७ वर्षीया छोरी अञ्जुकुमारी श्रेष्ठको घरैमा हत्या भएको हो ।
महोत्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार राति अन्दाजी १ बजेतिर ८/१० जनाको समूह श्रेष्ठको घरमा चोरी गर्न आएका थिए । आएका हतियारधारीले श्रेष्ठको घरमा चोरी गर्न थालेपछि अञ्जुकुमारीले होहल्ला गर्दै छिमेकीसँग गुहार मागेकी थिइन्। हल्ला गरको भन्दै उनीमाथि आक्रमण भएको बुढाथोकीले बताए।
छुरा प्रहारबाट गम्भीर घाइते भएकी अञ्जुलाई उपचारको लागि जनकपुर लैजाँदै गर्दा मृत्यु भएको हो । घाइते युवतीलाई सुरुमा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशाला लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा बिहान पौने ५ बजेतिर बाटोमै उनको मृत्यु भयो।