
काठमाण्डु, ४ असार – सत्तारुढ दल नेकपाका सांसद एवम् पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले सरोकारवाला निकायसँग पर्याप्त छलफल नगरी विधेयकहरु ल्याउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
नेकपाका प्रतिनिधिसभाका सांसद तामाङले पर्याप्त छलफल र तयारीविना नै आएकाले सरकारले ल्याएका पछिल्ला विधेयकहरु विवादमा तानिएको पनि स्पष्ट पारे । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले सत्तारुढ दलकै सांसदहरुले समेत सरकारले हतार गरेर ल्याएको विधेयकको विरोधमा बोल्नु परेको पनि स्मरण गराए ।
सांसद तामाङले विधेयकलाई व्यवस्थित बनाउन संसदभित्रै ड्राफ्ट गर्ने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरे । सरकारले पछिल्लो पटक संघीय संसदमा पेश गरेको गुठी विधेयक, मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक विवादमा तानिएको छ ।
सांसद तामाङले ती विधेयकहरु पर्याप्त तयारी विना नै आएकाले विवादमा तानिएको पनि स्पष्ट पारे ।