बालुवाटारमा ओली र प्रचण्डबीच ‘वान टू वान’ वार्ता, सचिवालय बैठक बोलाए

काठमाण्डु टुडे २०७६ असार ४ गते १५:३३ मा प्रकाशित

काठमाण्डु, ४ असार – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो साढे दुई घन्टा ‘वान टू वान’ वार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे १२ बजे सुरू भएको बैठक दिउँसो तीन बजे सकिएको हो । दुई अध्यक्षले यही आउँदो शुक्रबार पार्टी सचिवालय बैठक बोलाउने निर्णय गरेका छन् ।

यसअघि प्रधानमन्त्री ओली युरोप भ्रमणमा जानुअघि जेठ २३ गते नेकपा सचिवालय बैठक बसेको थियो । सांगठनिक विभागको जिम्मेवारी लगायतका विषयमा सदस्यहरूबीच कुरा नमिलेपछि बैठक स्थगित भएको थियो ।

त्यतिबेला प्रधानमन्त्री युरोपबाट फर्किएपछि सबै कुरा प्याकेजमा टुंग्याउने समझदारी बनेको नेताहरूले बताएका थिए ।

आज भएको भेटमा दुई अध्यक्षले सार्वजनिक हुन नसकेको पार्टीको राजनीतिक प्रतिवेदन टुंग्याएर प्रकाशन गर्ने निर्णय पनि गरेको स्रोतले जानकारी दियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us